Sunday, 19 August 2007

कोइरालाको कद घट्दा बढेको सन्त्रास !!!

मानीस मरेर ‘महान्’ बन्छन् या बाँचेर भन्ने प्रश्नको जवाफ निरपेक्ष हुन सक्दैन, किनकि कोही बाँचेर महान् भएका छन् भने कोही मरेर । जीवनको एक कालखण्डमा महान् ठानिएका कैयन मानिस बाँच्दाबाँच्दै यति घट्न पुग्छन् कि कालान्तरमा ‘नालायक’ विशेषणका लागि योग्य ठान्न थालिन्छ । जीवनमा सधैं सर्वप्रिय कोही हुन सक्दैन । भगवान् भनिएकाहरूको जीवनलाई नियाल्ने हो भने पनि उनीहरू अनेक उतारचढावपूर्ण चुनौतीहरूबाट गुजि्रएका भेटिन्छन् । कुनै पनि मानिस उचाइ, मोटाइ या गोलाइका कारण महान् हुन सक्दैन, व्यक्तिको भूमिका अर्थात् काम नै उसको आकार मापनको आधार हो भन्ने तथ्य जगजाहेर छ । तर, मानिस महान् बन्न जति कठिन छ, प्राप्त उचाइ धान्न उसलाई झनै कठिनाइ हुन्छ । इतिहासमा ज्यादै कम मानिसले मात्र आफ्नो उचाइ जीवनपर्यन्त धान्न सकेका देखिन्छन् । धेरैजसो मानिस एक समय कुनै खास भूमिकाका कारण उचाइमा पुग्छन् र समयमै भूमिका परिवर्तन गर्न नजान्दा स्वात्तै खसी पनि हाल्छन् । सायद यही खस्ने डरले हुनर्ुपर्छ- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू सफलताको शिखर चुमेपछि सन्न्यास घोषणा गर्ने गर्छन्, जो खेलिरहन्छन् ती अनेक पटक हार्छन्, अक्षम एवम् असफल प्रमाणित हुन्छन् र मर्छन् । माइक टाइसन विश्वप्रसिद्ध कुस्तीवाज, एक समय उनलाई पराजित गर्न सक्ने कोही देखिएका थिएनन् । उत्कर्षमा रहेकै समयमा सन्न्यास लिइदिएको भए सम्भवतः उनी पेलेझैं प्रसिद्ध र लोकप्रिय भइरहने थिए, तर उनले खेल्ने र जित्ने इच्छा जारी राखे, यसक्रममा कैयनपटक उनी हारिरहेका छन्, हारिरहेका छन् मात्र के भन्नु वास्तवमा मरिरहेका छन् । खेलमा जस्तै राजनीतिमा पनि हुँदोरहेछ । सन् १९४९ को चिनियाँ क्रान्तिताका माओत्सेतुङ लोकप्रियताको चरम चुलीमा थिए, उनले क्रान्तिलगत्तै आफू केन्द्रीय सत्ताको कुनै पद धारण नगरी बाहिर बसेका भए सधैं उत्तिकै लोकप्रिय भइरहने विश्वास गर्न सकिन्छ । तर, माओ क्रान्तिको सफलतापछि पनि सत्ताको चुलीमा रहिरन इच्छुक भए, फलस्वरूप पचासको दशकमा चरमचुलीमा पुगेको उनको लोकप्रियता साठीको दशक पार गर्दा नगर्दै यसरी घट्यो कि सन् १९६२/६३ तिर त माओविरुद्धको जनमत बढ्दै गएको थियो । १९६६ देखि साँस्कृतिक क्रान्तिका नाममा उनले अर्को ज्यादती सुरु नगरेको भए जनव्रि्रोहद्वारा उनी फालिने परिस्थिति सिर्जना भइसकेको थियो । दोस्रो विश्वयुद्धताका ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल आफ्नो वाकपटुता र कार्यशैलीका कारण चर्चा र लोकप्रियताको शिखरमा पुगेका थिए, तर त्यसपछि लामो राजनीतिक भूमिकामा नरहनुपरेका कारण उनको व्यक्तित्व जोगिएको छ, मानिस चर्चिललाई दिलैदेखि स्मरण गर्छन् र आनन्द मान्छन् । दक्षिण अफि्रकाका स्वतन्त्रता नायक नेल्सन मण्डेलालाई आफ्नो उचाइ जोगाउन हम्मे-हम्मे परिरहेको छ, तथापि उनी जोगिएकै छन् भन्नुपर्ने हुन्छ । सिङ्गापुरलाई समृद्ध मुलुकका रूपमा स्थापित गरेर र्सवप्रिय एवम् चर्चित बनेका ली क्वान यू आफू सबैका प्रिय छँदाछँदै प्रधानमन्त्री पदबाट बाहिरिए, नयाँ नेतृत्व विकास गर्न र नयाँ पुस्तालाई मौका दिन उनी मन्त्रिमण्डलको सदस्यका रूपमा अझै काम गर्दैछन् । प्रधानमन्त्री भएका व्यक्ति मन्त्री हुँदा पनि उनको उचाइ घटेन, आज पनि उनी उत्तिकै लोकप्रिय मानिन्छन् । भारत स्वतन्त्रताको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका जवाहरलाल नेहरूलाई प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा आफ्नो उचाइ जोगाउन निकै मुस्किल परेको थियो । विश्वमै चर्चित सन्तनेता मोहनदास करमचन्द गान्धी पनि नत्थुराम गोड्सेबाट नमारिएका भए समय बित्दै जाँदा उनी कति घट्दै जान्थे अहिले अनुमान गर्नुको अर्थ नहुन सक्छ, तर बाँचिरहेका भए भूमिकाका कारण अग्लिएका गान्धी भूमिकाकै कारण होचिने सम्भावना बढिरहेको तथ्य भारतको इतिहासले बताउँछ । डेढ वर्षमात्र प्रधानमन्त्रीका रूपमा रहनुभएका बीपी कोइरालाले आफ्नो सिङ्गो जीवन नेपालको प्रजातान्त्रिक आन्दोलनमा र्समर्पण गर्नुभयो । उहाँले होचिने काम गर्नुभएन र त्यस्तो मौका पनि पाउनुभएन । त्यसैले नेपाली राजनीतिमा बीपी कोइरालाको नाम अग्लाहरूको तुलनामा निकै अग्लो महसुस गरिन्छ । २०४६ को जनान्दोलनले आकाशमा पुर्‍याएको नाम गणेशमान सिंह बाँच्दै जाँदा होचिँदै गयो पनि । ‘श्रद्धाको नाम’ मर्ने बेलासम्ममा ‘सहानुभूतिको नाम’मा रूपान्तरित भइसकेको थियो । २०४७ मा संविधान निर्माण र २०४८ मा संसदीय निर्वाचन गराएर सक्रिय राजनीतिबाट अलग्गिन नसक्नुको पट्यारलाग्दो परिणाम आज कृष्णप्रसाद भट्टर्राई भोग्दै हुनुहुन्छ ।
महान् मानिसहरू पदसँग साटिन र टाँसिन चाहँदैनन् । आफ्नै भूमिकाले मानिसलाई महान् या सैतान बनाउँछ भन्ने जगजाहेर छ । उचाइ बढ्दै जाँदा मानिस ‘भगवान्’ कहलाइन सक्छन्, ‘महान्’ ठानिन सक्छन्, कर्मका कारण मानिसको उचाइ असीमित ढङ्गले उचालिन सक्छ । २०६२/६३ को जनान्दोलनले गिरिजाप्रसाद कोइरालालाई उहाँको जीवनकै र्सवाधिक उचाइमा पुर्‍याइदियो । ०६२/०६३ को जनान्दोलनले एउटा क्रान्ति गरेको हो भने त्यो क्रान्तिको नायक गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो भन्न हिचकिचाउनु भनेको उहाँप्रतिको पूर्वाग्रह प्रकट गर्नु मात्र हो । वास्तवमा पछिल्लो आन्दोलनले गिरिजाप्रसाद कोइरालालाई कुनै प्रधानमन्त्री र राष्ट्रपति पदभन्दा निकै माथि उचालिदिएको हो, तर उहाँले आफूलाई प्रधानमन्त्री पदको दायरामै सीमित गर्न चाहनुभयो, मानिसले यतिसम्मलाई अस्वाभाविकचाहिँ मानेनन् । तर, प्रधानमन्त्री भएयता कोइरालाको कद घट्दै गएको छ भन्नुपर्ने दुःखद् अवस्था छ । प्रधानमन्त्रीका रूपमा कोइरालाको भूमिकाबाट जनता सन्तुष्ट छैनन्, माओवादी र अन्य विपक्षी पनि पूर्ण रूपमा सन्तुष्ट भएजस्तो महसुस हुन छाडेको छ । अरू त अरू नै भइहाले स्वयम् गिरिजाप्रसाद कोइरालाको पार्टी काङ्गे्रससमेत उहाँको भूमिकाप्रति असन्तुष्ट छ । उहाँको सोच र कार्यशैलीले वास्तविक अर्थमा लोकतन्त्र सुदृढीकरणलाई बल नपुर्‍याएको, बरु अरू नै कसैको निरङ्कुशतन्त्र आगमनको आधारशिला खडा गरिदिएको निष्कर्षनिकाल्न थालिएको छ । कोइरालालाई हटाउन नहुने, आवश्यकताअनुरूप चलाउन पनि नसकिने र उहाँले भनेबमोजिम गर्न पनि नमिल्ने अवस्था यतिबेला काङ्गे्रस पार्टी र प्रजातन्त्र पक्षधरहरूले बेहोरिरहेका छन् । एउटै आन्दोलनमा उत्तिकै सक्रियतापूर्वक लागेका दशरथ चन्द र धर्मभक्तहरू आज पनि स्तुत्य छन्, तर रामहरि शर्माहरू बाँचेर पनि गुमनाम भएझैं गिरिजाप्रसाद कोइरालाले पनि त्यस्तै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ताले काङ्गे्रस समर्थकलाई व्याकुल बनाएको देखिन्छ । आफ्नै सन्तानको पेट काटेर पराया पोस्ने पिताको जस्तो अवस्थामा गिरिजाप्रसाद कोइरालालाई महसुस गर्न थालिएको छ । छिमेकीका लागि आफ्नै घर भत्काइदिने पितालाई योग्य सन्तान जसरी ‘हर्ेन र पर्खन’ विवश हुन्छन्, ठीकै त्यस्तै मानसिकता बनेको छ- काङ्गे्रसका नेता एवम् कार्यकर्ताको । पर्खनु र हर्ेर्नुबाहेक काङ्गे्रस र्समर्थकका निम्ति अर्को कुनै विकल्प देखिन छोडेको छ । मुलुकका मूलभूत समस्याको समाधान पाउने आशामा रहेका प्रजातन्त्रपे्रमीहरू कोइराला आफैं समस्या बन्दै जानुभएपछि किंकर्तव्यविमुढ हुन पुगेका छन् । गिरिजाप्रसाद कोइरालालाई पुरानै दृष्टिकोणको ह्याङओभरमा रहेर हेर्न खोजिँदैछ, तर पुराना मूल्य, मान्यता र व्यवहारबाट विचलित भइसक्नुभएका उहाँबाट पहिलेकै जस्तो परिणामको आशा राख्नु कोइरालाप्रति अन्यायी बन्नु हो कि भन्ने चेत हामीभित्र पलाउन सकिरहेको छैन । उहाँ बाँचिन्जेल सबै काम उहाँले नै गरिदिनुपर्छ भन्ने बालहठवादी सोचबाट हामी मुक्त हुन सकेका छैनौं । सबै मानिस हरेक अवस्थामा उत्तिकै क्रियाशील एवम् उत्तिकै उपयोगी हुन सक्दैनन्, यो प्राकृतिक यथार्थभन्दा बाहिरबाट गिरिजाप्रसाद कोइरालालाई पनि हेरिनुहुदैन ।
भौतिक आवरणबाहेक पुरानो गिरिजाप्रसाद कोइरालाका कुनै गुण वर्तमान गिरिजाप्रसादमा देखिँदैनन् । त्यसैले इतिहासलाई सदा स्मरण गर्न मिल्ने ‘गुन’ लगाइसक्नुभएका कोइरालाले आफूलाई यसभन्दा बढी घट्न नदिन कुनै उचित उपाय अवलम्बन गरेर पार्टी र प्रजातन्त्र जोगाउन योगदान पुर्‍याइदिनुपर्ने आवश्यकता खट्किएको छ । आफूसँगै ढल्ने प्रजातन्त्र र पार्टी स्थापना गरेर संसारमा कोही व्यक्ति महान् बनेका छैनन्, बन्ने कल्पना गर्नु पनि र्व्यर्थ हुन्छ ।

देवप्रकाश त्रिपाठी
घटना र् बिचार बाट

1 comment:

Anonymous said...

ALWAYS REMEMBER, GIRIJA IS THE CLEVEREST MAN AMONG NEPALI POLITICIANS

 

myspace counters
eDiet Diet Programs