Thursday, 22 November 2007

गणतन्त्रको पक्षमा जान भारत सहमत

भारतीय शासकको नेपालमा गणतन्त्र स्थापनाका लागि लबिङ भइरहंदा राजतन्त्र बचाउने प्रयासस्वरुप निर्मल निवासमा पनि अहिले सक्रियता ह्वात्तै बढेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला भारतीय शासकलाई नेपालमा गणतन्त्रमा जान आग्रह गरेर फर्केको एक हप्ता नबित्दै भारतीय दूतका रुपमा चिनिएका अम्रेश सिंहलाई नयांदिल्ली बोलाएर गणतन्त्रको पक्षमा जान भारत सहमत भएको सन्देश बोकाएर उनलाई काठमाडौं फर्काइएको छ। अम्रेश सिंह ठूला पार्टीका नेताका निवासमा पुगेर नेपाललाई गणतन्त्रमा लान भारत सहमत भएको खबर दिंदै हिंडेका छन्। माओवादीलाई एक्ल्याएर ठोक्ने रणनीति बनाएको भारतले चीनका विद्वान् वाङले नेपाल आएर नेपाल र माओवादीको पक्षमा बोलेपछि भारतले आफ्नो रणनीति बदलेर दूतावासमार्फत माओवादीका दुई नेताहरुलाई भारतसंगको सम्बन्धलाई अझ गाढा बनाउने हो भने भारत गणतन्त्रमा जान तयार रहेको कुरा राजनीतिक वृत्तमा चर्चा छ। उता भारतीय शासक गणतन्त्रमा जाने रणनीतिलाई तुहाउन दरबारले पनि भारतको भारतीय जनता पार्टीसंग मात्र लबिङ गरिरहेको छैन कि नेपालमा पनि आफ्नो शक्ति सुदृढ गर्न सक्रिय देखिन्छ। दरबार पक्षधर व्यक्तिहरु दिनहुं भेटघाट र छलफलमा व्यस्त छन। यसरी राजतन्त्र बचाउने निर्मल निवासको अभियानमा राजनीतिक व्यक्तित्व मात्र होइन, व्यवसायीसमेत जुटेको बुझिएको छ। जानकारीअनुसार शरदचन्द्र शाहको नेतृत्वमा हिमालयशमशेर राणा, भरतकेशर सिंह र निजका छोरा अमर सिंह, भोला थापा (प्रेसिडेन्ट ट्राभल्स), योगेन्द्र शाक्य, मनोजबहादुर श्रेष्ठ, अशोक राणा, रोहिणी थपलिया, विजय दुगड (दुगड ग्रुप), शशि खेतान (रिलायन्स स्पिनिङ), रुपज्योति, विनोद सिंह (शेर्पा होटल), राजेन्द्र खेतान, दीपक भट्ट (फक्स ट्राभल्स)लगायत संगठित भएका छन्।

1 comment: