Thursday, 22 November 2007
एमालेमा किचलो !!
व्यवस्थापिका संसद्मा माओवादीसंग मिलेर प्रस्ताव पारित गर्ने निर्णय पार्टीको कुनै कमिटीबाट नभएको भनेर केपी ओली, प्रदिप नेपाललगायतका नेताहरुले आलोचना गरे पनि सो निर्णय स्थायी समितिको बैठकबाटै गरिएको खुलासा भएको छ। तर माइन्युट लेख्ने जिम्मेवारी पाएका सचिवालय सचिव अमृतकुमार बोहोराले धोका दिएपछि महासचिव माधवकुमार नेपाल र वामदेव गौतम पार्टीभित्र आलोच्य भएका हुन्। २०६४ कात्तिक १९ गते सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमै स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा माओवादीसंग मिलेर गणतन्त्रसम्बन्धी पार्टीको प्रस्ताव पारित गर्नुपर्छ भन्नेमा वामदेव गौतम एक्लो परेका थिए। गौतमलाई अमृत बोहोरा र ईश्वर पोखरेलले त तपाईं माओवादीमै जानुस् सम्म भनेको एक नेताले बताए। अन्तिममा महासचिव नेपालले झोक्किंदै।।।ज(जसलाई जे गर्नुछ, गर्नुस् तर गणतन्त्र र समानुपातिक प्रणालीलाई संसद्मा अल्पमतमा पर्न दिन्न। माओवादीसंग मिलेर एक(एकवटा प्रस्ताव पारित गर्ने मेरो हि्वप हो' भनेपछि बैठक टुंगिएको थियो। माइन्युट लेख्ने जिम्मा पाएका बोहोराले त्यो बैठकको माइन्युट नै नलेखेको कुरा महासचिवले पछिमात्र थाहा पाएको बताइएको छ। सो प्रकरणलाई महासचिव नेपालले निकै गम्भीर रुपमा लिएको एमालेको उच्च स्रोतले जनाएको छ। वामदेव गौतमले त अमृत बोहोराले घात गरेको भन्दै यस प्रकरणलाई चर्काउने भइसकेका थिए तर महासचिवले रोकेको बताइएको छ। यद्यपि, कात्तिक ३० गते बल्खुमा बसेको स्थायी समिति बैठकमा पनि वामदेवले माइन्युट प्रकरण उठाएका थिए। माइन्युट बुक लिएर बैठक कोठाको ढोकाकै छेउमा बसेका बोहोरालाई वामदेवले।।।तपार्इंको कुनै भरोसा छैन। आफ्नो अनुकूल निर्णय भएन भने माइन्युट नै लेख्नु हुन्न' भनेर घोचपेच गरेका थिए। महासचिव नेपालले सधैं विश्वास गरेर कार्यवाहक महासचिव बनाउंदै शक्तिशाली हैसियतमा पुगेका बोहोरा पछिल्लो समयमा महासचिवविरुद्धको अभियानमा ज्यान फालेर लागेका छन्। स्थायी समितिमा आफ्नो अवस्था दयनीय भएकाले महासचिव नेपाल बोहोरालाई चलाउन सक्ने अवस्थामा पनि नरहेको एमालेका नेताहरु बताउंछन्। सचिवालय सचिव भनेको महासचिवको सहयोगी र पार्टी प्रवक्ताको हैसियत हो तर बोहोराले माइन्युटमा समेत महासचिवलाई धोका दिएका छन्। स्थायी समितिको पछिल्लो बैठकमा पनि एमालेका नेताहरुबीच ठूलै होहल्ला मच्चिएको थियो। करिब एक वर्षदेखि पार्टीका कुनै पनि बैठकमा नदेखिएका केपी शर्मा ओलीसमेत कात्तिक ३० गतेको बैठकमा सुरुदेखि अन्त्यसम्म जमेर बसेका थिए। अधिकांश नेताहरुले महासचिव नेपाल र वामदेवको चर्को आलोचना गर्दै पार्टीलाई डुबाएको आरोप लगाएका थिए। बैठक चलिरहेका बेला बाहिरै सुनिनेगरी नेताहरु चर्काचर्की गर्न थालेपछि महासचिव नेपालका स्वकीय सचिव दीपेश पौडेलले छेउछाउमा रहेका टेलिभिजन पत्रकारहरुलाई तल गइदिन आग्रह गरेका थिए। बैठकमा स्थायी समितिका एक सदस्य केशव बडाल।।।पार्टी त डुब्यो कमरेड, हामी बर्बाद भयौं' भन्दै भावुक भएका थिए। स्थायी समितिमा महासचिवविरुद्ध प्रचण्ड बहुमत भए पनि संसद्मा गरिएको निर्णय उल्ट्याउने प्रस्ताव भने कसैले लगेनन्। केपी ओली अहिले वैचारिक मुद्दामा फरक मत राखे पनि महासचिवलाई हटाउने वा अल्पमतमा पार्ने खेलमा सामेल नहुने मुडमा छन्। पछिल्लो समयमा माओवादीविरुद्धको प्रकरणमा झलनाथ खनाल, अमृत बोहोरा, ईश्वर पोखरेल, प्रदिप नेपाल, केपी ओली एक ठाउंमा भए पनि यो समीकरण दीर्घकालीन नहुने एमाले नेताहरु बताउंछन्। ओली झलनाथलाई नेता नै मान्दैनन् भने ईश्वरसंग कुरै मिल्दैन। ओली निकटका एक केन्द्रीय सदस्यका अनुसार ओली अहिले महासचिवको विरोध पनि नगर्ने र अरुले विरोध गरेमा प्रतिवाद पनि नगर्ने दहीच्यूरे रणनीतिमा छन्। यता वामदेव गौतम भने स्थायी समिति र संसदीय विभागमा अल्पमतमा परे पनि केन्द्रीय समितिमा महासचिव र आफ्नो बहुमत रहेकाले कसैले केही गर्न नसक्ने बताउन थालेका छन्। पछिल्लो समयमा वामदेव गौतम, झलनाथ र ईश्वर लबीबाट अलग भएर महासचिव नेपालको एकमात्र समर्थक बनेर प्रस्तुत भएका छन्। महासचिवको पक्षमा स्थायी समितिमा गौतमका अलावा सहाना प्रधान र विष्णु पौडेल पनि छन्। बाहिर जतिसुकै चर्का कुरा गरे पनि प्रदिप नेपालले महासचिवको साथ नछाड्ने स्पष्ट छ। स्थायी समितिमा अल्पमतमा परेका महासचिवले चलाखीपूर्ण ढंगले विवादलाई थान्को लगाउंदै सातदलको एकताका लागि एमालेले नयां भूमिका खोज्ने निर्णय गराउंदै सो प्रकरणबाट मुक्त भएका छन्। यता स्थायी समितिले माओवादीसंग संसद्मा भएको एकता प्रकरणलाई छाडे पनि केन्द्रीय कमिटीले छाड्दैन भन्दै युवराज कार्कीलगायतका केन्द्रीय सदस्यहरु महासचिव र वामदेवको सत्तोसराप गर्न थालिसकेका छन्। यो अभियानमा आफैंले प्रचार विभाग प्रमुख बनाएका रघुजी पन्तदेखि राजेन्द्र पाण्डेसम्म सामेल भएकोमा महासचिव नेपाल आक्रोशित भएका छन्। पन्तलाई बढी नबोल्न निर्देशन दिन वामदेवले महासचिवलाई आग्रह गरेको चर्चा पनि बल्खुमा सुनिन्छ।
No comments:
Post a Comment