kiran gautam / KTM
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कपिलवस्तुको घटना सदियौंदेखिको सामाजिक सदभावलाई तोडेर हिंसा र अराजकता फैलाउने उद्देश्यले गराइएको बताउनुभएको छ।
कपिलवस्तुको घटनास्थल निरीक्षण गर्न आउनुभएका गृहमन्त्री सिटौलाले निरीक्षणपश्चात् लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारार्थ भर्ना भएका घटनाका घाइतेहरूलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो।
हिंसात्मक क्रियाकलाप नियन्त्रण गर्न सबै क्षेत्रको प्रयास र सहयोग अपरिहार्य रहेको स्पष्ट पार्दै गृहमन्त्री सिटौलाले जिल्लामा थप सुरक्षा व्यवस्था मिलाउन सशस्त्र र जनपद प्रहरीका दुइ जना एआईजी केही दिनका लागि कपिलवस्तुमै रहने जानकारी दिनुभयो।
बिहीबार कपिलवस्तुको पत्थरदैयामा भएको घटनामा घाइते ६ जनामध्ये गम्भीर अवस्था रहेका विश्वनाथ गुप्तालाई थप उपचारका लागि गृहमन्त्री सिटौलाले आफू आएको हेलिकोप्टरमै काठमाडौं लैजानुभएको छ।
गृहमन्त्री सिटौलाले कपिलवस्तु घटनामा शुक्रबारसम्म प्रहरी प्रशासनले दिएको रिपोर्टका आधारमा २१ जनाको मृत्यु भएको पनि बताउनुभयो। गृहमन्त्रीसँगै घटनाको निरीक्षण गर्न कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मा र माओवादी नेतृ पम्फा भुसाल पनि आउनुभएको थियो।
उता अन्य दुइ बजार तुलसीपुर र लमहीमा बिहीबारदेखि कर्फ्यु जारी रहेको छ भने जिल्ला सदरमुकाम घोराहीमा पनि शुक्रबार साँझदेखि ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
कपिलवस्तु घटनाको प्रभावस्वरूप बिहीबारदेखि तनावग्रस्त रहेको तुलसीपुर र लमहीमा स्थिति सामान्य हुन थालेको छ।
स्थितिलाई सामान्य तुल्याउन प्रहरीले तोडफोड र आगजनीमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। तुलसीपुरमा सात र घोराहीमा दुइ महिलासहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
1 comment:
"Lagan Pachi ko pote ke kaam" dherai manis ko jyan janu thiyo gai halyo,ghar jale, gadi jale...aba surakshya kada garera ke huncha?? belai ma garnu parthyo.
Post a Comment