Wednesday 7 November 2007

माओवादी पंक्तिमा खैलाबैला

नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराई अनपेक्षित रुपमा १४ गते बुधबार सांझ भारतीय दूतावास गएपछि माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ। नेताद्वयको भारतीय दूतावास भ्रमण र राजदूत शिवशंकर मुखर्जीसंगको झन्डै ९० मिनेट भलाकुसारीका कारण माओवादीका अधिकांश नेता र कार्यकर्ताहरु एकैसाथ निराश र आक्रोशित बन्न पुगेका छन्। नेताहरुको दूतावास भ्रमण र राजदूतसंगको गोप्य मन्त्रणाले भारतीय विस्तारवादको नेपालमाथिको हस्तक्षेपको विरोधमा शिर उठाउन नसक्ने अवस्था सिर्जना भएको उनीहरुको कथन छ। माओवादी नेताहरुको दूतावास भ्रमणपछि भारतपरस्त नीति अख्तियार गर्दै आएको नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुले माओवादीको खुच्चिङ मार्न थालेका छन्। आफूहरुले भारतपरस्त भनी सहनुपरेको अपमान अब माओवादीमा स्थानान्तरण भएको कारणले गर्दा कांग्रेसीहरु खुच्चिङ मार्ने अवस्थामा पुगेका हुन्। आफ्ना पार्टीका नेताहरु त्यसरी भारतीय दूतावास धाउने नगरेको बरु आवश्यक पर्दा भारतीय राजदूत आफ्ना नेताहरुलाई भेट्न आउने गरेको दलिल कांग्रेसीहरुले पेस गर्न थालेका छन्। उनीहरुले पेस गरेको दलिल असत्य भने छैन। नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुसंग भेटघाट गर्नुपरेमा भारतीयलगायत अन्य देशका राजदूत नै सम्बन्धित पक्षको निवास वा पार्टी कार्यालय जाने गरेको पाइन्छ। यता माओवादी भने राजदूतलाई भेट्न आफैं लालायित बनेर दूतावास जान थालेको छ। त्यसो त, माओवादीको शीर्ष नेतृत्व भारतीय दूतावास गएको यो पहिलोपटक भने होइन, यसअगाडि पनि गएको थियो। त्यतिबेला पनि माओवादी नेतृत्वको पार्टीगत र जनस्तरमा चर्को विरोध भएको थियो। उतिबेलाको विरोधलाई आफ्नो पार्टीका शीर्ष नेताहरु किरण तथा गौरवलगायत अन्य भारतीय जेलमा बन्दी बनाइएकाहरुको रिहाइका लागि कूटनीतिक पहल गर्न भारतीय दूतावास गएको भनी माओवादी हेडक्वार्टरले साम्य बनाएको थियो। यतिबेला भारतीय दूतावास प्रवेशको सवाललाई लिएर माओवादी नेतृत्वले चित्तबुझ्दो उत्तर दिन सकेको छैन। यता कांग्रेसले समेत माओवादीलाई होच्याएर माओवादी भारतीय दूतावासको नेतृत्व र भारतबाट आउने रहस्यमय फोनको आधारमा परिचालन हुने गरेको प्रचार अभियान सञ्चालन गरेको छ। माओवादीभन्दा कांग्रेस भारतविरोधी बन्नसक्ने अवस्था आउनुलाई राजनीतिक पर्यवेक्षकले नौलो घटनाको रुपमा चित्रण गरेका छन्। माओवादी नेताहरुको दूतावास भ्रमणले राष्ट्रवादी नेपालीहरुमा समेत माओवादी साख ह्वात्तै घट्न पुगेको छ। माओवादीको राष्टि्रयताप्रतिको नीतिका बारेमा देशभक्त नेपालीहरुले प्रश्नचिह्न उठाउन पुगेका छन्।

No comments:

 

myspace counters
eDiet Diet Programs