Saturday 1 December 2007

डा. शेखर कोइराला भर्सेस सुजाता कोइराला

विराटनगरस्थित नोबेल एकेडेमी मेडिकल कलेजका चारजना सञ्चालकहरु डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, उमेश पाण्डे र आदित्य खनालमाथि मंसिर २ गते योङ कम्युनिस्ट लिग नेपालको नाममा भएको अपहरण र कुटपिटको घटनाको रहस्य अहिले सतहमा आएको भन्दा बेग्लै भएको थाहा भएको छ। सो मेडिकल कलेजका सञ्चालकमध्ये सुनिल शर्मा तथा डा. ज्ञानेन्द्र गिरी पक्षका बीचमा लामो समयदेखि चल्दै आएको विवाद मिलाउने नाममा गिरी पक्षधरलाई विराटनगरबाट काठमाडौंमा बोलाई विमानस्थलबाट कामीडांडा लगेर कुटपिट गरिएको थियो। गिरी पक्षधरलाई विवाद मिलाउने नाममा वाईसीएल प्रयोग गरी अपहरण तथा कुटपिट गराउनका लागि बालुवाटारमा छाया प्रधानमन्त्रीको रुपमा परिचित डा. शेखर कोइरालाको प्रमुख हात रहेको जानिफकार सूत्रले बताएको छ। नोबेल एकेडेमीका सञ्चालकबीचमा चलेको विवादमा शर्मा पक्षलाई डा. शेखर कोइराला तथा डा. गिरी पक्षलाई सुजाता कोइरालाको समर्थन र आशीर्वाद रहेको छ। गिरिजाप्रसाद कोइरालाको विश्वास प्राप्त मात्र नभई छाया प्रधानमन्त्रीको रुपमा परिचित यी दुई कोइरालाहरुले आफ्नो हात माथि पार्नका लागि वाईसीएलको प्रयोग गरेर प्रचण्डलाई समेत उछिनेको कुरा यो घटनाको वास्तविक रहस्य खुलेपछि सार्वजनिक हुन पुगेको छ। यता कोइराला परिवारभित्र चलेको नोबेल एकेडेमी सञ्चालनसम्बन्धी विवादमा बालुवाटारबाटै वाईसीएल प्रयोग भएको र त्यसको परिणाम नकारात्मक बन्न पुगेपछि माओवादी नेतृत्वसमेत गम्भीर बन्न पुगेको छ। वाईसीएलका तल्ला दर्जाका व्यक्तिहरुबाट त्यसप्रकारको गलत काम भएको र गलत काम गर्नेहरुलाई कारबाही गरिने जानकारी माओवादीले दिएको छ। यसैबीच वाईसीएलका उपत्यका इन्चार्ज सागरले नोबेल प्रकरणमा गल्ती भएको भन्दै केन्द्रीय समितिसमक्ष आत्मालोचना गरेका छन्। वाईसीएलको हालै सम्पन्न केन्द्रीय समिति बैठकले वाईसीएलभित्र छाडा संस्कृति, अराजकता र मनपरीतन्त्र बढेको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि रोक्नुपर्ने ठहर गरेको छ। शेखर कोइरालाले वाईसीएल प्रयोग गरी आफ्ना पक्षधर नोबेल एकेडेमीका सञ्चालकहरुलाई कुटपिट गराएको कुरा सुजाता कोइरालालाई त्यसैदिन जानकारी भएकै कारण कुटपिटमा परेकाहरुलाई प्रम गिरिजाप्रसाद कोइरालासंग भेटघाट गराउने प्रपञ्च मिलाइदिएकी थिइन्। भेटघाटको क्रममा कोइरालाले दोषीहरुलाई कारबाही गरिने भनी दिएको आश्वासनलाई विफल बनाउने काममा डा. शेखर कोइराला लागिपरेको सुजाता पक्षले जिकिर गरेको छ।

1 comment:

Anonymous said...

YCL boyz be careful, not all your friends are good

 

myspace counters
eDiet Diet Programs